कात्तिक २ गते २०८३ || October 18, 2026

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८००६:३०

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए।

भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गरेका छन्। आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गरेका छन्।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ।

भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ। आदिकवि भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो।

यसैबीच गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो।


  • सम्बन्धित विषय:

  • # आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend