कात्तिक २ गते २०८३ || October 18, 2026

क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८००७:४९

क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल

 काठमाण्डौँ - कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल अनुत्तीर्ण गराएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन् । कलेज प्रशासनको लापरबाही र नियतवश प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराइएको उनीहरूले विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बताए । 

पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म लिएको थियो। जेठ १ गते प्रकाशित नतिजाअनुसार न्यौपाने र भगत दुई विषयको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका थिए। सैद्धान्तिक परीक्षामा उनीहरू पास भएका छन्। क्याम्पसले विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूले प्रयोगात्मक परीक्षा लिएको जनाएको छ। तर, अनुत्तीर्ण भएका विद्यार्थीले प्रयोगात्मक परीक्षा लिन आएका बाह्य परीक्षकसँग बुझ्दा कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मूल्यांकन नगरेको विद्यार्थी न्यौपानेले बताइन्।

‘प्रयोगात्मक परीक्षाको अंक क्याम्पसले दिने गरेको बाह्य परीक्षकले पनि भनेका छन्। कलेज प्रशासनले पनि आफ्नो गल्ती स्वीकार गरेको छ,’ विद्यार्थी न्यौपानेले भनिन्, ‘हामी तीनजना विद्यार्थीलाई नियोजित रूपमा प्रयोगात्मक परीक्षामा कम अंक दिएर अनुत्तीर्ण गराएका हुन्।’ यता कलेजका प्रिन्सिपल सूर्यनारायण चौधरीले विद्यार्थीलाई अनुत्तीर्ण गराउन कलेजको कुनै हात नहुने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूबाट प्रयोगात्मक परीक्षा लिने र ग्रेडिङ गरेर अंक दिने हो,’ प्रिन्सिपल चौधरीले भने, ‘फेल र पास गराउनेमा हाम्रो कुनै हात नै हुँदैन।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


  • सम्बन्धित विषय:

  • # क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend