माेरङ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएको छ । प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आइतवार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएको हो ।
उक्त पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवराेध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरूबीच गठबन्धन पनि हुन सक्ने बताए ।
‘आउँदाे चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरूको प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘गठबन्धनका पार्टीहरूबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’अध्यक्ष दाहालले नेपाली कांग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठनबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भन्नु भएकाले यसलाई गठबन्धनले सकारात्मक रूपमा लिएको बताए ।
'प्रचण्ड' ले एमाले नेतृत्वसँग संसद् अवराेध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रूपमा संसद् अवराेधकाबीच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को चुनाव सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिए।
मोरङको रङ्गेली नगरपालिकाका मेयरले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जाने क्रम चलिरहन्छ, त्यो उहाँहरूको व्यक्तिगत स्वार्थका कारणले भएको स्पष्ट पारे।