कात्तिक १ गते २०८३ || October 17, 2026

देशभर हालसम्म ५३ प्रतिशत रोपाइँ सम्पन्न


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००९:५४

देशभर हालसम्म ५३ प्रतिशत रोपाइँ सम्पन्न

 काठमाडौँ - मुलुकभर हालसम्म करिब ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

गत वर्ष असार २९ सम्म करिब ६५ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्ये देशभर ५३ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार २९ गतेसम्म ५६ प्रतिशत अर्थात् ७ लाख १८ हजार ४ सय हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 

गत बर्ष यही अवधिको तुलनामा रोपाइँ करिब १२ प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जानकारी दिए ।

‘मधेश, कोशी र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलाइ हुँदा गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशत विन्दुले रोपाइ कमी भएको छ,’ मन्त्रालयको अनुसार, ‘मनसुन सुरु हुने क्रमसँगै रोपाइँ हुने क्षेत्रफल बढ्दो क्रममा छ ।’

यस्तै, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ । 

प्रतिशतको हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत रोपाइँ भएको छ । 
त्यसपछि क्रमशः गण्डकीमा ७९ प्रतिशत, लुम्बिनीमा ७५ प्रतिशत, वागमतीमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै, मधेशमा ५७ प्रतिशत, कर्णाली प्रदेशमा ५६ र कोशीमा सबैभन्दा कम ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

विस्तारै मनसुन सक्रिय भइरहेको र रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा रहेको मन्त्रालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # देशभर हालसम्म ५३ प्रतिशत रोपाइँ सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend