असोज ३० गते २०८३ || October 16, 2026

नापी कार्यालयका अधिकृतविरूद्ध एक करोडको भ्रष्टाचार मुद्दा


आइतबार, साउन १४ २०८००२:०७

नापी कार्यालयका  अधिकृतविरूद्ध एक करोडको भ्रष्टाचार मुद्दा

नापी कार्यालय चाबहिलका तत्कालीन नापी अधिकृत राजु पुरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नापी अधिकृत पुरीविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

उनले २०५२ पुस ९ गते सेवा प्रवेश गरी २०७९ असार मसान्तसम्मको अवधिमा कमाएको एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ। 

अख्तियारले उनको आय तर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, उनको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बीमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा प्राप्त आयसमेत मुल्यांकन गरेको थियो।

मुल्यांकन गर्दा उनको एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ बराबरको आय प्राप्त गरेको देखिएको छ। 

व्ययमा उनकी श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम, रजिष्ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बीमा प्रिमियम, सवारी साधन खरिद र विद्युतीय सामान खरिद गरेको देखिएको छ।

त्यसरी उनले दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको हो। 

व्ययको तुलनामा उनले प्राप्‍त गरेको आय रकम एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै पुरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। 

सार्वजनिक सेवाको पदमा बहाल रहँदा उनले आफ्नो पदीय हैसियतको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको, अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको दाबी छ।

उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ।

त्यस्तै उनकी श्रीमती सिर्जना गिरीको नाममा पनि सम्पत्ति देखिएको भन्दै सम्पत्ति जफत गर्नको लागि मात्रै उनलाई प्रतिवादी बनाइएको छ।


  • सम्बन्धित विषय:

  • # अख्तियार दुरुपयोग
  • # अनुसन्धान


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend