प्रतिनिधि सभाको बैठक आज बस्दै छ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आजकै बैठकमा गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।