राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका हुन् । उहाँले आज एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन्।
घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका हुन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ ।
बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुनेछ । लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणागरेका छन् । उनीहरुलाई मासिक रु. ४० हजारदेखि रु. एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुनेछ ।
लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । पैँसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिनेछ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ ।
उनले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु. पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिनेबताएका छन् । पहिलो चरणमा एक सय जनालाई समावेश गरिनेछ ।
लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ट शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइनेछ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिनेछ । उनले इच्छाकामनाको भाराङकाे आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिएका छन्।
कार्यक्रमको घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उनले २० जनाको स्वयमसेवी समूह (आरएटी) परिचालन गरिनेबताएका छन् । वर्षातको समयमा मात्र यो र्यापिट एक्सन टिम परिचालन हुनेछ । उनकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार एक सय ७४ बराबर फलफूल र बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा ‘एक मत एक बिरुवा’ रोप्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक बजेट जुटाउन चितवन क्लब गठन गरिनेछ ।
क्लबमा विदेशमा रहेका चितवनवासीलाई समावेश गरेर आर्थिक सहयोग जुटाइने उनले बताएका छन् । लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटनगरेका हुन्। लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको आज एक सय दिन पुगेको हो ।