मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।
जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।
भोलि आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।