काठमाडौँ - मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका नेता दिपकबहादुर सिंह निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई पछी पार्दै जित हासिल गरेका हुन् ।
सिंहले २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले २५ हजार ४३४ मत प्राप्त गरेकी छन् । सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे।
लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए । आफ्नै क्षेत्रमा एमालेसँग थापाको तालमेलका बाबजुद राप्रपाका सिंहले जित हासिल गर्नु असामान्य उपलब्धि मानिएको छ ।