प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
उहाँले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरूलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ भोलि सदन खुल्छ ।’
प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताउनुभयो ।