सोमवार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ ।
कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । स्थानीय विकल भट्टराईका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगरिएका कारण मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेको हो ।
उहाँले केही घण्टाको पानीमा नगर डुबानमा पर्नु भनेको निकै गम्भीर कुरा भएको जनाउँदै पानी निकासको तत्काल व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । डुडुवा खोला वरिपरिका बस्तीहरु पनि डुबानमा परेका छन् ।