नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको भदौ २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखले जनाएको छ।
महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरु अन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् ।
कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवम् सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभागले जनाएको छ।