कात्तिक १ गते २०८३ || October 17, 2026

रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत


बुधबार, भदौ १३ २०८००२:०३

रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत

यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।

यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीकाटिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको छ। 
आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उहाँले बताउनुभयो । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवम् गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ ।

“हालसम्म रक्षाबन्धन तथा जनैपूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन, एकै दिन गर्ने गरेको नै नेपालको परम्परा देखिन्छ। 

ब्रह्माजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकाले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनुपर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु हुँदैन । कालिका पुराणमा भनिएको छ –

संप्राप्तवान् श्रुतीर्ब्रम्हा पर्वण्यौदयिके पुनः ।
अतो भूतदिने तस्मिन्नोपाकरणमिष्यते ।।

अघिल्लो दिन भद्रा पर्ने भएकाले एक घडीमात्र भए पनि भोलिपल्ट उदय पूर्णिमाका दिन रक्षाबन्धन गर्नुपर्दछ । भद्राको समयमा बाँच्न चाहनेले कुनै पनि माङ्गलिक कार्य गर्न नहुने ज्योतिषशास्त्रको मुहूर्त चिन्तामणि नामक ग्रन्थको शुभाशुभ प्रकरणमा उल्लेख गरिएको छ । मुहूर्त चिन्तामणि ग्रन्थमा भनिएको छ–   

नकुर्यान्मङ्गलं विष्ट्यां जीवीतार्थी कदाचन ।
कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्व नाशतां व्रजेत् ।।  

शास्त्रका उल्लिखित वचनअनुसार पनि भदौ १४ गतेको जनैपूर्णिमामा दुई मुहूर्त न्यून पूर्णिमा नभई तीन मुहूर्त व्यापिनी अर्थात् पाँच घडी १८ पला पूर्णिमा भएकाले पूर्वदिनमा उपाकर्मादि कृत्य गर्नु शास्त्रसम्मत नदेखिने समितिको ठहर छ । उपाकर्म र रक्षाबन्धनलाई अलग अलग कृत्यका रूपमा स्वीकार गर्ने शास्त्रीय परम्परा छैन । 
कुनै भ्रममा नपरी पञ्चाङ्गमा उल्लेख भएअनुसार बिहीबारकै दिन उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि श्रावणी पर्व र गाईजात्रा पर्व पनि मनाउन समितिले आज जारी गरेको अपिलमा उल्लेख छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend