कात्तिक १ गते २०८३ || October 17, 2026

पशुपतिनाथलगायत धेरैजसो मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो


पिपल अनलाइन
बिहीबार , भदौ १४ २०८०१२:०४

पशुपतिनाथलगायत धेरैजसो मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

 जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ । 

पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । 

प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

 यस अवसरमा विभिन्न नौ वा ११ किसिमका गेडागुडी भिजाएर टुसा उमारी तयार हुने क्वाँटी पकाएर खाइन्छ । यसले वर्षाभर शरीरमा गाडिएको चिसो निकाली स्वस्थ बन्न मद्दत पुग्ने आयुर्वेद शास्त्रीय विश्वास रहेको छ । यस पर्वका अवसरमा रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी र नौलिङ्गेश्वर कुण्ड, सोलुखुम्बुको दूधपोखरी, देवघाट, रिडी, त्रिवेणीलगायत स्थानमा मेला लागेको जनाइएको छ । केहीले भने बुधबार नै रक्षाबन्धन पर्व मनाएका छन् । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend