कात्तिक २ गते २०८३ || October 18, 2026

विद्यालयमा भुक्तानी नपाएपछि तालाबन्दी, पठनपाठन अवरुद्ध


आइतबार, असोज १४ २०८००४:१५

विद्यालयमा भुक्तानी नपाएपछि  तालाबन्दी, पठनपाठन अवरुद्ध

रुकुमपश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाइएको छ । सानीभेरी गाउँपालिका–७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालय ताला लगाइएको हो ।

विद्यालय भवन निर्माण गर्दा लिएको निर्माण सामग्रीको भुक्तानी नपाएपछि व्यावसायीले ताला लगाएका हुन् । सानीभेरी हार्डवेयरका सञ्चालक मनीषा बिसी ओलीले २०७५ सालमा विद्यालय भवन निर्माणका लागि लिएको सामग्रीको भुक्तानी नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताएका छन्  ।

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । 

विद्यालयको भवन निर्माणमा केही रकम पहिले दिए पनि करिब नौ लाख रकम बाँकी रहेको र हालसम्म ब्याज जोडेर १४ लाख ९० हजार रुपियाँ पुगेको उनको भनाई छ। 

विद्यालयको गेटमा ताला लागेपपछि अहिले शिक्षक र विद्यार्थीहरु गेटबाहिर रहेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताए । कक्षा ५ सम्म सञ्चालन भएको उक्त विद्यालयमा ५० जना विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

प्रधानाध्यापक ओलीका अनुसार सानीभेरी हार्डवेयरबाट जम्मा नौ लाख ९७ हजारको निर्माण सामग्री खरिद गरेको र चार लाख रुपियाँ तिरिएको छ । हाल ब्याज जोडेर धेरै रकम भएको उनको  भनाइ छ । प्रधानाध्यापक ओलीले विद्यालय भवन निर्माणको जिम्मा लगेको खड्का एण्ड केसी निर्माण सेवालाई पनि करिब छ लाख रुपिया तिर्न बाँकी रहेको र पटक–पटक उक्त निर्माण व्यवसायीले पनि विद्यालय बन्द गर्ने चेतावनी दिइरहेको बताए  । भवन निर्माणका लागि आएको बजेट जग्गा खरिदमा खर्च भएपछि पूरा रकम भुक्तानी हुन नसकेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend