प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपश्चात राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्रीले भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनुभएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै मृतक परिवारलाई तत्काल दुई लाख सहयोग प्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी, भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने पनि बताउनुभयो ।
त्यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।
भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइनेछ ।
सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको गरी यथाशीघ्र पुनर्निर्माण गरिनेछ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् ।
नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत् परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।