प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई यहाँस्थित नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवेश गर्न दिएको छ ।
भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको ट्रकलाई बेलुकी साढे ७ बजे मात्र भन्सारबाट छाडिएको छ ।