प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गर्नु भएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
नेस्नल सेन्टर ब्युरो नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुनुभएको हो ।
उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाइ गर्नुभयो ।