नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा सुरु गरेको बताउनु भएको छ ।
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा मङ्गलबार भएको जन संवाद कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने पनि दाबी गर्नुभयो ।
‘‘आज सङ्कल्प यात्राको १३ दिन हो उहाँले भन्नुभयो, ‘‘यात्राको क्रममा हामीले विभिन्न क्षेत्रका विषयमा मागपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण पत्रु बुभ्mदै आएका छौ । त्यसलाई अध्ययन गरी त्यस ठाउँको विकास र राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रुपमा अध्ययन गरेका छौ । बृहत्तर योजनाहरु बनाई रहेका छौं ।’’
एमाले अध्यक्ष ओलीले त्यसै सन्दर्भमा जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरु सुन्दै र आफ्ना भनाइहरु राख्दै खुर्कोट आई पुगेको बताउनुभयो । उहाँले जनताबाट गरिबी हटाउने, देशमा समृद्धी ल्याउने र जनतालाई शान्तिपूर्ण, सुखमय, समतामुलक समाज निर्माण गर्ने कुरामा प्रेरित गर्ने काम एमालेले गरी रहेको बताउनुभयो ।
सिन्धुली जिल्ला प्रवेश गर्दा उत्साहपूर्ण स्वागत, सम्मान र माया प्राप्त गरेको चर्चा गर्दै उहाँले त्यसले सङ्कल्प यात्रामा हिँडेको टोलीको मनोबल उच्च बनाउन योग्दान पुगेको सुनाउनुभयो