असोज ३० गते २०८३ || October 16, 2026

भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल भासिदै जान्छ : राष्ट्रपति पौडेल


आइतबार, माघ २८ २०८००१:२३

भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल भासिदै जान्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सिर्जना गर्ने बताएका छन्  । उनले  यसले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरेका छन्  ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , “भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुनजान्छ ।” 

“शासन प्रणाली जति पारदर्शी र जवाफदेही  हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारवाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु, नेपाली जनताको ठूलो वलिदान र संघर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो”, राष्ट्रपति पौडेलले भने ।  

विद्यमान कार्यसंस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए  । 

हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमानदार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक रहेको उनले बताए  ।   

राष्ट्रपति पौडेलले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान छानविन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन बरु ठूला प्रकृति र कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि  उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्न हुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिए  ।  

“मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकहरूको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीहरूलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्ने चुनौतीसमेत यस आयोग तथा  सम्बन्धित निकायका सामु देखापरेको छ”, राष्ट्रपति पौडेलले भने   ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend