नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन् ।
एक सय १४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतीदेवी स्मृति केन्द्रद्वारा आज यहाँ आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा पूर्वप्रधानमन्त्री ओलीले सामाजिक रूपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनैरहने बताएका हुन् ।
अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए ।
त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘सङ्घर्षशील योद्धाहरू’को लोकार्पण गरे भने सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकालाई सम्मानित गरे । आज सम्मानित हुनेमा प्रेरणादायी महिलामा धम्मावती गुरुमा, युवा वैज्ञानिक रोजिता बुद्धाचार्य, वर्ल्ड लाइफ फोटोग्राफर विनीता भण्डारी, उद्यमी सावित्री थापा, समाजसेवी, शान्ति चड्डा, राजनीतिकर्मी सोना छेदुङ लामा, साहसिक बस चालक रेणुका थापा, दुर्गमकी चिकित्सक तुलसी शाही, सामाजिक अभियन्ता, सोनिया सदाय र मानव बेचबिखन विरोधी अभियानकर्ता चरिमाया तामाङ छन् ।