शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताएकी छिन् ।
बुधबार लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरूमा समावेश नभएको भन्दै मन्त्रालयले समाजसँग पाठ्यक्रम भनेर सो अभियान सुरु गरेको बताईन् । उनले पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको बताएकी छिन्।
उनले लाइसेन्सका लागि नेपाल हेल्थ प्रोफेसनल काउन्सिलसँग मिलेर काम गरिरहेको पनि जिकिर गरेकी छिन् । लागूऔषध दुर्व्यसनीमा फसेकाहरूलाई सहयोग चाहिने भए पनि अहिलेसम्म लाइसेन्सको व्यवस्था नभएको उनको भनाइ छ । उनले लाइसेन्सको व्यवस्था भए सहयोगी सेन्टरहरू धेरै हुनसक्ने बताएकी छिन् ।
उनले लागूपदार्थ दुर्व्यसनीमा लाग्नबाट बालबालिका तथा युवाहरूलाई बचाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताईन् ।