कन्या मन्दिर माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा अभूतपूर्व सफलता हासिल गर्दै, देशकै सामुदायिक विद्यालयहरूबीच उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यो विद्यालय विशेष रूपमा छात्राहरू मात्र पढ्ने एकमात्र विद्यालय हो, जसले यो सफलता हासिल गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार, विद्यालयबाट १३१ जना विद्यार्थीमध्ये १२८ जना उत्तीर्ण भएका छन्, जुन करिब ९८ प्रतिशत उत्तीर्णता हो। विशेषगरी, ३.६१ वा सोभन्दा माथि जीपीए ल्याउने २६ जना विद्यार्थी छन्, र उच्चतम जीपीए भने ३.९० रहेको छ। विद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपानेले यो सफलता विद्यार्थीहरूको कठिन परिश्रम, शिक्षकहरूको समर्पण, अभिभावकहरूको सहयोग, र विद्यालय व्यवस्थापन समितिको सक्रिय भूमिका कारण प्राप्त भएको बताए। उहाँले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकता दिई अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयले शैक्षिक सफलता साथै अनुशासन, नैतिक शिक्षा, र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको छ, जसले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन मद्दत गरेको छ। विद्यालयले सफल हुने सबै विद्यार्थीलाई बधाई दिँदै, उच्च शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ, साथै शिक्षक, अभिभावक, र विद्यालय परिवारप्रति आभार प्रकट गरेको छ।