स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी तथा प्रतिनिधिहरूले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयअन्तर्गत रहेको दलीय विद्यार्थी संगठनसम्बन्धी संरचना हटाउने निर्णयप्रति गम्भीर असहमति जनाएका छन्। स्ववियुको टोलीले सोमबार त्रिवि पदाधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णय विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासविपरीत रहेको जनाएको छ। उनीहरूले विश्वविद्यालय सरकारको प्रत्यक्ष प्रभावबाट मुक्त भई स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। ध्यानाकर्षण पत्रमा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूको कुनै औपचारिक संरचना नरहेको उल्लेख गर्दै दलीय संरचना हटाउने निर्णय औचित्यहीन भएको दाबी गरिएको छ। त्यस्तै, सर्वोच्च अदालतबाट विश्वविद्यालय समन्वय समितिसम्बन्धी निर्णय कार्यान्वयन गर्न जारी भएको अन्तरिम आदेशको समेत सम्मान गर्नुपर्ने उल्लेख गर्दै अदालतको आदेशविपरीत गरिएका निर्णयहरू कानुनी रूपमा टिक्न नसक्ने विश्वास व्यक्त गरिएको छ। स्ववियुले विश्वविद्यालय प्रशासनलाई विधिको शासन, न्यायपालिकाको सम्मान तथा संवैधानिक व्यवस्थाअनुसार निर्णय गर्न आग्रह गरेको छ। साथै, सम्पूर्ण विद्यार्थीलाई संयमता अपनाउन अपिल गर्दै विवादको समाधान कानुनी तथा लोकतान्त्रिक प्रक्रियाबाट हुने विश्वास व्यक्त गरेको छ। ध्यानाकर्षण पत्रमा विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष तथा पदाधिकारीहरूको हस्ताक्षर रहेको छ। पत्र बुझाउने क्रममा स्ववियु प्रतिनिधिहरू र त्रिविका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।