कात्तिक १ गते २०८३ || October 17, 2026

विराटनगरमा भारी वर्षाले जनजीवन प्रभावित


बुधबार, असार १२ २०८१०२:३८

विराटनगरमा भारी वर्षाले जनजीवन प्रभावित

मंगलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । 

पछिल्लो ७ घण्टा विराटनगरमा लगातार भारी वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको छ भने खोलाको सतह बढ्दा खोला किनारका बस्तीहरु जोखिममा परेका छन् ।

बजार क्षेत्रका अधिकांश बाटोमा पानी भरिएका कारण हिंडडुल गर्न समस्या भएको छ भने कच्ची घरहरुमा पानी पसेर सर्वसाधारण समस्यामा परेका छन् । वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका दुई दर्जन घर डुबानमा परेका छन् । 

केसलिया खोला भरिएर पानी बस्तीमा पसेका कारण दक्षिण पश्चिममा रहेको केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि स्थानीहरु त्रासमा परेका छन् । 

विराटनगरमा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै मानवीय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । प्रहरी,  स्थानीय युवाहरु जनप्रतिनिधिहरु डुबानबाट प्रभावितहरुलाई सहयोग गर्न विभिन्न ठाउँमा खटिएका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend