बुटवल पावर कम्पनी लिमिटेड(बिपिसी)अन्तर्गत आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित र वितरित विद्युत् महसुल घटेसँगै कार्यालयमा लागेको ताला खुलेको छ । महसुल वृद्धिको विरोधमा आँधीखोला जलविद्युत् केन्द्रको कार्यालय गल्याङ, शाखा कार्यालय वालिङमा उपभोक्ताहरूले तालाबन्दी गरेका थिए ।
उपभोक्ताहरूले विभिन्न ठाउँमा गठन गरेका सङ्घर्ष समितिहरूले विभिन्न शाखामा लगाएका ताला खोलेका हुन् ।
यता वालिङ शाखामा लागेको ताला पनि खोलिएको छ ।
नियमन आयोगले बिपिसीलाई पत्र लेख्दै पुरानै दररेटमा महसुल लिन निर्देशन दिएको हो । आयोगको बैठकले पुरानै दरमा महसुल उठाउने निर्णय गरेको पत्रमा उल्लेख छ । आयोग निर्णयसँगै बिपिसीले पुरानै दररेटका आधारमा महसुल उठाउने भएको छ ।
बुटवल पावर कम्पनीले उत्पादन र वितरणमा घाटा भएको भन्दै महसुल दर वृद्धि गर्नका लागि दिएको निवेदन अनुसार नियमन आयोगले एकतर्फी निर्णय गर्दै महसुल वृद्धि गरेको थियो । जसका कारण वालिङ र पाल्पाका उपभोक्ताहरू विभिन्न सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका थिए । विवादसँगै मिटर रिडिङ समेत बन्द भएको थियो । आयोगले ४५ देखि ७० प्रतिशत सम्म विद्युत् महसुलमा वृद्धि गरेको थियो ।