प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।
प्रकाशलाई तत्काल नागरिकता आवश्यकतानै रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले मङ्गलबार रातीनै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा थप छलफल भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘शुभ बिहानी हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राती १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’’