उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
सोमबार मन्त्रालयमा नेकपा (एमाले)को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री सिंहले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको जिकिर गरे । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।
आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढि जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको उनले स्पष्ट पारे । उनले नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेका छन् ।
उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताए ।