कात्तिक २ गते २०८३ || October 18, 2026

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ : राष्ट्रपति पौडेल


बुधबार, भदौ २६ २०८१०१:२६

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले प्रतिवेदनमा औँल्याइएका विषय कार्यान्वयन गर्न सम्बन्धित सबै निकाय र पदाधिकारीले पूर्णप्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 सो क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षलगायत प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले जानकारी दिनुभयो । प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा परिषद्बाट भएका निर्णय, सम्पादित प्रमुख कार्यको विवरण तथा अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय सुरक्षा विश्लेषण समाविष्ट छ ।

 वार्षिक प्रतिवेदन पेस गर्दै परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिस्थितिका आयाम र त्यसबाट उत्पन्न चुनौतीका स्वरुप समय प्रवाहसँगै परिवर्तन हुन गइरहेको स्पष्ट पार्नुभयो । उहाँले मुख्य शक्ति राष्ट्र र क्षेत्रीय शक्ति राष्ट्रबीच आर्थिक, सामरिक र रणनीतिक प्रतिस्पर्धाको होडबाजीका कारण अन्य राष्ट्रको वैदेशिक, आर्थिक तथा सम्बन्ध सन्तुलन नीतिहरु क्रमशः प्रभावित हुँदै गइरहेको बताउनुभयो ।

 प्रधानमन्त्रीले भन्नुभयो, “विश्वमा हाल भइरहेका विभिन्न युद्ध, द्वन्द्व र अन्तर्राष्ट्रिय सामुद्रिक पारवहन मार्गमा देखिएको द्वन्द्वका कारण विश्व सुरक्षा परिवेशमा नयाँ स्वरुप देखिने सम्भावना रहेको छ ।” उहाँले हालका दिनमा सूचना प्रविधिको द्रूततर र अभूतपूर्व विकासले विश्वको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुग्नाका साथै सुरक्षा क्षेत्रमा थप जटिलता र चुनौतीसमेत सिर्जना गरेको स्पष्ट पार्नुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend