नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम दुरुपयोग गरेर अनुसन्धानलाई प्रभावित पार्ने खेलमा लागेको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले शनिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए पनि रवि लामिछानेको विषयमा गैर कानुनी रूपमा लगानी गरेर दुरुपयोग गरेको बताउनुभएको हो ।
बिना लगानी शेयर प्राप्त गर्नु अनुचित काम भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो, ‘गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गरेका छन् । विना लगानी शेयरधनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’
सित्तैमा पैसा लिनु भनेको पनि भ्रष्टाचार गर्नु हो भन्दै महासचिव पोखरेलले कारबाही सिफारिस भएका व्यक्तिले मैले ‘क्लिन चिट’ पाएँ भन्नु अनुसन्धानलाई प्रभावित पार्ने खेल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी ठगी प्रकरणमा मैले ‘क्लिन चिट’ पाएँ भन्नु रवि लामिछानेको अनुसन्धानलाई प्रभावित पार्ने खेल हो ।’
सहकारी क्षेत्रमा सङ्कट देखिनु वित्तीय सङ्कटको प्रभाव भए पनि कतिपय सहकारीले आफ्नो नियम पालना नगर्दा बचतकर्ताको लगानी सङ्कटमा परेको बताउनुभयो । सङ्कटमा परेका बचतकर्तालाई बचाउने जिम्मा सरकारको भन्दै उहाँले सत्यतथ्य छानबिन गरेर पीडितलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
सहकारी संस्थाको छानबिन समितिले गरेको सिफारिसअनुसार जोकोही भए पनि कानुनअनुसार कारबाहीको भागीदार हुनुपर्ने बताउनुभयो । त्यसैगरी महासचिव पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतङ्क फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको बताउनुभयो ।
देशको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारविरुद्ध चलखेल सुरु भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भएको छ । स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठुला दल एक ठाउँमा उभिएका हुन् । विकल्प खोज्ने हो भने संसदबाट मात्र सम्भव छ ।’
आम निर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुल्ला भएको भन्दै त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले माओवादी केन्द्रले अहिले सबैभन्दा छटपटी सरकारबाट बाहिरिएको पीडा पोखिरहेको बताउनुभयो ।