कात्तिक २ गते २०८३ || October 18, 2026

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरूलाई प्रचण्डको आह्वान


शनिबार, असोज ५ २०८१०१:४०

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरूलाई प्रचण्डको आह्वान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताउनुभयो ।

‘‘हामीसँग हजारौँ महान् राष्ट्रिय सहिदहरू छन्, यो हाम्रो ठुलो शक्ति हो,’’ उहाँले भन्नुभयो, ‘‘माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्नेबित्तिकै त्यो तागत निकै ठुलो हुनेवाला छ । अझै पनि हामी सही ठाउँमा छौँ, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौँ, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौँ, विजय सम्भव छ ।’’

संसदीय चुनाव लडिसकेपछि सङ्ख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वाभाविक भएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले संसद्को शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताउनुभयो । अहिले पनि संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रूपमा अर्थ्याएको उल्लेख गर्नुहुँदै  उहाँले यो शब्द फिर्ता नलिँदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताउनुभयो । 

जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । पटक-पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउनुहुँदै उहाँले भन्नुभयो, ‘‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’’ यसबाट जनयुद्धका सदिहरु अब राष्ट्रिय सहिदको रूपमा अजर अमर बनेको उहाँले स्पष्ट गर्नुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend