कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
आइतबार दिउँसो काठमाडौंको शङ्खमूलबाट प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राती साढे ९ बजे हवाइजहाजमार्फत पोखरा ल्याइएको हो । गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनको कागजात नियन्त्रणमा लिएको थियो ।
गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा चले पनि अरु कसैविरुद्ध पक्राउ पुर्जी नलिइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले गत वर्ष सात सहकारीको अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । सबै मुद्दा विचाराधीन छन् ।
सहकारीको रकम ठगीका मुख्य अभियुक्त जिबी राई भने अहिले मलेसिया छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा १, साँदी घर भएका राईको परिवार सामान्य खेतीकिसानी गर्थ्याे । जिबी सहकारी ठगीमा परेपछि परिवार कोही गाउँमा नरहेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
नेटवर्किङ व्यवसाय हुँदै देशका विभिन्न ठाउँमा सहकारी खोली धेरै ब्याज दिने प्रलोभन दिएर बचत जम्मा गरी योजनाबद्ध रुपमा उनले अपचलन गरेको खुलेको छ । ठाउँ ठाउँका सहकारीबाट गोर्खा मिडियामा रकम पठाई अपत्यारिलो तलव दिने गरेको संसदीय समितिको प्रतिवेदनले औंल्याएको छ । राई उनको परिवारका सदस्य र अरु प्रतिवादी र कतिपय उनीहरु सञ्चालक रहेको कम्पनीले सहकारीबाट गैरकानुनी रुपमा ठूलो रकम लगेको देखिएको छ ।