कात्तिक २ गते २०८३ || October 18, 2026

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी


शुक्रबार, कात्तिक २ २०८१०५:३२

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

रास्वपा केन्द्रीय कार्यालय च:मतिमा सभापति लामिछानेसहित पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू र कार्यकर्ताहरू पनि भेला भएका छन्।

शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा पनि लामिछाने पक्राउ पर्ने चर्चा भएको थियो।

सहकारी संस्थाको बचत रकम दुरूपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो। जसमा रवि लामिछानेको संलग्नता देखिएकोले कारबाही सिफारिस गरिएको थियो।

प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा आएको थियो। गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने थिए। 

गृहमन्त्री रमेश लेखकले गत असोज  ६ गते सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज १५ गते लीला पछाइलाई पक्राउ गरेर कास्की लगेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।

संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।

बचत अपचलन गर्दा सहकारीले कानुनविपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।

सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्।

सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend