प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन् । शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
उनले जलवायु परिवर्तनसम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभइ मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने , ‘‘आज हामी खास गरी कोप २९ को तयारीका सन्दर्भमा नेपालको त्यहाँ पोजिसन, हाम्रो अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेका छौँ । मैले विश्वास लिएको छु, यस सम्मेलनले यि विषयहरु उपयुक्त र पर्याप्त जवाफ निकाल्छ ।’’
प्रधानमन्त्री ओलीले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए । उनले नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरुमा क्लाइमेट इस्युजहरुमा नेतृत्व गर्ने गरेको जानकारी दिए ।
उनले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भुगोल भएको बताए । उनले जलवायु वित्त, जलवायुन्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको बताए ।
प्रधानमन्त्री ओलीले भने , ‘‘नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा क्लाइमेट इस्युजमा नेतृत्व गर्ने गरेको छ । सबैभन्दा बढि सरोकारवाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढि असर पार्ने र असरलाई रोक्नसक्ने भुगोल यही हो । यसै भुगोलले रोक्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताए । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । जलवायु परिवर्तनका कारण महिला, बालबालिकार ज्येष्ठ नागरिक सबैभन्दा बढि पीडित भएको बताएका छन् ।