कात्तिक २ गते २०८३ || October 18, 2026

एक हुन अध्यक्ष प्रचण्डको अनुरोध


बिहीबार , मंसिर ६ २०८१०६:३१

एक हुन अध्यक्ष प्रचण्डको अनुरोध

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।  

माओवादी केन्द्र गोरखाले आज जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको ‘पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष दाहालले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र संवर्द्धनमा जुट्न सबैसँग अनुरोध गर्नुभयो।

पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पङ्क्ति ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने उल्ट्याउने कोसिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु।’’

पहिलो संविधान सभाको निर्वाचनमार्फत जनताले दिएको विश्वास र भरोसाको रक्षा गर्न माओवादीले नसकेको स्वीकार गर्दै अध्यक्ष दाहालले राजनीतिक इतिहासको सूक्ष्म ढङ्गबाट समीक्षा गरी आमजनताको विश्वास जित्ने गरी काम गर्न पार्टी पङ्क्ति ध्यानाकर्षण गर्नुभयो।    

सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको उल्लेख गर्दै उहाँले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गरी पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्‍याउने अठोटका साथ अघि बढेको पार्टी नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको बताउनुभयो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend