बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ लाई सोमबार हेटौँडामा सम्बोधन गर्नुहुँदै भ्रष्टाचार नियन्त्रण गर्न मन्त्रालयदेखि कार्यपालिका, न्यायपालिका सबै एकताबद्ध र एकजुट हुनुपर्ने बताए ।
"भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने विषय महत्त्वपूर्ण छ, भ्रष्टाचार भयो भन्ने कुरामा मात्रै सीमित रहनुभएन," मुख्यमन्त्री लामाले भने । एउटा तरिकाले मात्रै भ्रष्टाचार नियन्त्रण हुँदैन नियन्त्रण गर्ने विधि अपनाउनुपर्छ, विधि जबसम्म बन्न सक्दैन तबसम्म भ्रष्टाचारको सवाल उठिरहने उनको को भनाइ छ।
हिजोको विधिले मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएको बताउँदै अब बन्ने विधि प्रविधिमैत्री हुनुपर्नेमा उनले जोड दिए । राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिक सबैको सम्पत्ति पहिचान भए मात्रै भ्रष्टाचार नियन्त्रण हुनसक्ने उनको भनाइ छ । ऐन कानुन मात्रै ल्याएर नहुने बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रणको विधि आवश्यक रहेको बताएका छन् ।