गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘हामी विपद् जोखिमको उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ । त्यसो भएको हुनाले यसलाई न्यूनीकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ ।’’
गृहमन्त्री लेखकले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको औंल्याउनुभयो । उहाँले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्नुहुँदै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।