परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताउनुभएको छ ।
कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिनुहुँदै सो बताउनुभएको हो ।
उहाँले नाकामा छोटी भन्सारहरु खुलाउने विषयमा जनप्रतिनिधिहरुले महत्त्वपूर्ण विषय उठाएको जानकारी दिनुहुँदै यसका लागि पहल गर्ने बताउनुभयो ।
बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्नुहुँदै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताउनुभयो ।
विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरु बर्दिया ल्याउन आफूले पहल गर्ने उहाँको भनाइ छ ।