तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।
मङ्गलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।