कात्तिक १ गते २०८३ || October 17, 2026

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह


बुधबार, पुस २४ २०८१११:१९

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौं उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।

भूकम्पको धक्काले अताल्लिएका काठमाडौं नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउनुहुन्छ । “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठुला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ”, उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।”

कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उहाँको भनाइ छ । डा कार्कीले भन्नुभयो, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।”

उहाँले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताउनुभयो । “यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन”, उहाँले भन्नुभयो, “ सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।”

अनावश्यक त्रास नफैलाउन आग्रह
खानी तथा भू(गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ । “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।” उहाँले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।

पूर्वतयारी र सचेतनाको जरुरी
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले भूकम्प गएमा के गर्ने  रु कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के-के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गर्नुभयो । “भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु”, जोशीले भन्नुभयो ।    

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ । संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend