कात्तिक २ गते २०८३ || October 18, 2026

विद्युतीय सवारी प्रयोगमा जोड - शेर बहादुर देउबा


शनिबार, पुस २७ २०८१११:०६

विद्युतीय सवारी प्रयोगमा जोड - शेर बहादुर देउबा

 पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले नेपालमा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । 

कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले शुक्रबार ‘वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतीकरण’ कार्यक्रममा उहाँले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुभएको हो । 

उहाँले जलवायु परिवर्तनले हिमताल फुट्ने र हिमाल पग्लिने समस्या देखिएको बताउँदै नेपालले सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालले चाहेर मात्रै हुँदैन तर धेरै काम गर्न सकिन्छ । यसका लागि डिजेल र पेट्रोल जस्ता इन्धनको प्रयोग न्यूनीकरण गर्नु पर्छ । विद्युतीय सवारीसाधन प्रयोग गर्नु पर्छ ।”

सभापति देउवाले काठमाडौँमा मात्रै पनि पेट्रोलियम इन्धन कम गर्न सकिएमा त्यसको वातावरणीय प्रभाव सकारात्मक हुने बताउनुभयो । उहाँले विश्वका विभिन्न देशमा विद्युतीय सवारीसाधन प्रयोग वृद्धि गरिएको जानकारी दिँदै वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विश्वव्यापी तापक्रम वृद्धि चिन्ताजनक रहेको बताउँदै देशभरि नै जलवायु परिवर्तनका सन्दर्भमा सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले कांग्रेसले वातावरण संरक्षणका विषय गम्भीर र संवेदनशील रूपमा पार्टीका राजनीतिक दस्ताबेज र घोषणापत्रमा पनि समावेश गरेको प्रस्ट पार्नुभयो । उहाँले जलवायु परिवर्तनले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत धेरै क्षेत्र यसको असरबाट प्रभावित हुन थालेको बताउनुभयो । 

उहाँले नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पनि जलवायु परिवर्तनका सन्दर्भमा सशक्त रूपमा आवाज उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल जोगाउन र जलवायु परिवर्तन अनुकूलन र प्रभाव न्यूनीकरणका क्षेत्रमा प्रभावकारी कदम चाल्नु पर्छ ।”

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग तत्काल न्यूनीकरण गरेर जलवायु परिवर्तनको प्रभाव रोक्न सकिने बताउनुभयो । उहाँले विश्वको वातावरण परिवर्तनको समस्यालाई नियन्त्रण गर्न नसकिए पनि नेपालले आफ्नो देशमा जलवायु परिवर्तनबाट भइरहेको प्रभाव नियन्त्रण गर्न सक्ने दाबी गर्नुभयो । 

कांग्रेस नेता एवं वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाको तयारी भइरहेको बताउनुभयो । उहाँले समग्र आर्थिक वृद्धिको कार्य वातावरणीय संरक्षणलाई सन्तुलनमा अगाडि बढाउँदै जलवायु परिवर्तनको विषय सम्बोधन गर्ने बताउनुभयो ।  

कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख कल्याणकुमार गुरुङले जलवायु परिवर्तनको असर देखिन थालेकाले यो विषयलाई गम्भीर रूपमा उठाउनुपर्ने बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend