कात्तिक २ गते २०८३ || October 18, 2026

देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर : प्रधानमन्त्री


मंगलबार, माघ १५ २०८१०३:४६

देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताउनुभएको छ ।

यही माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा मङ्गलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरुलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गर्नुभयो ।

उहाँले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयो । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश जारी भएका थिए ।

एमाले संददीय दलका नेता प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवाररुपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरुलाई आग्रह गर्दै अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिनुभयो ।

उहाँले राष्ट्रिय एकता, हित, स्वाधिनता र सार्वभौमसत्ताका पक्षमा स्पष्टताका साथ सरकार प्रस्तुत हुने र जनताको सुशासनका पक्षमा नीतिगत स्पष्टता र व्यवहारिकरुपमा दृढताका साथ प्रस्तुत हुनुपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल दुबै छिमेकी मुलुकसँग साँच्चैको सन्तुलित, मित्रतापूर्ण, आशड्कारहित र पारस्परिक लाभका आधारमा सुदृढ गर्दै लाने र छिमेकीको विकासको लाभ लिने बताउनुभयो । उहाँले नेपालले छिमेक सम्बन्धलाई विशेष प्राथमिकता दिने र अन्तर्राष्ट्रिय सम्बन्धलाई देखिने र सुनिने बनाउने पनि जनाउनुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend