कात्तिक ३ गते २०८३ || October 19, 2026

सहकारीले सुशासन प्रवर्धनमा काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह


आइतबार, माघ २० २०८१०५:५७

सहकारीले सुशासन प्रवर्धनमा काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफनो उद्देश्यअनुरूप काम गर्नुपर्ने बताउनुभएको छ । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासङ्घ र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा भएको सहकारी सुशासन प्रवर्धनसम्बन्धी मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले जुन उद्देश्यले सहकारी खुलेको छ, त्यसमा कमी कमजोरी भइरहेको भन्दै सहकारीले समाजमा सकारात्मक परिवर्तनका लागि उद्देश्य परिपुर्ति हुने किसिमले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले साना–साना वस्तुहरूको उत्पादनपछि बजारीकरणको काममा प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सहकारीकर्मीलाई आग्रह गर्नुभयो । 

मुख्यमन्त्री सिंहले चुरिया क्षेत्रमा रहेका खाली जग्गामा औषधीजन्य जडीबुटीको उत्पादन पश्चात प्रशोधनगरी बजारीकरण गर्न सके देशको अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने भन्दै त्यस्ता कामहरू गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले मधेश प्रदेशको भू–भागमा रहेको खाली जग्गालाई व्यवस्थित गर्ने काममा प्रदेश सरकार लागेको भन्दै खाली जग्गाको उपयोग हुनुपर्ने र त्यसमा सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मलले सहकारीले समाज रूपान्तरणका लागि विभिन्न क्षेत्रमा कामकाज गरे पनि केही व्यक्तिका कारण सहकारी क्षेत्र बदनाम हुन पुगेको धारणा राख्नुभयो । 

उहाँले सहकारीले समाजका लागि गरेका कामकाजको विषयलाई प्रचारमा ल्याउनु पर्ने धारणा राख्दै शिक्षा, स्वास्थ्य, कृषिसहितका क्षेत्रमा सहकारीले विभिन्नखालका कामकाज गरेको बताउनुभयो । अध्यक्ष मलले वर्तमान सरकारले ल्याएको सहकारीसम्बन्धि अध्यादेशमा एस.टि.आइ, कर्जा सूचना केन्द्रजस्ता धेरैजसो विषयवस्तु आएकोमा सरकारलाई धन्यवाद दिँदै छुटेको विषयलाई समावेश गराउनतर्फ सबैले पहल गर्नु पर्नेमा जोड दिनुभयो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend