भनिन्छ, नेपाली राजनीतिमा गोरु पनि ब्याऊँ छ । हो दर्शकबृन्द, अब त्यही गोरु ब्याउँदै छ । आखिर नेपाली राजनीतिमा कसरी ब्याउँदै छ त गोरु? आज हामी त्यसको फेहरिस्त प्रस्तुत गर्दै छौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सहमतिको सरकार बनाउने कसरत सुरु भएको छ । सार्वजनिक रूपमै कांग्रेस एमालेका नेताहरूले राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बताउन थालेका छन् । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवादसमेत सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाबारे भेटेरै छलफल नै भइरहेको छ । पानी बाराबारको अवस्थामा रहेका दलहरू फेरि मिलेर सरकार बनाउनु भनेकै नेपाली राजनीतिमा गोरु ब्याऊँनु हो, यसको मतलब हो नेपाली राजनीतिमा जे पनि हुन सक्छ, असम्भव केहीपनि छैन ।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्रवादी दलहरूलाई तर्साउने गरी आफू चुप नबस्ने बताएपछि नेताहरू गणतन्त्र जोगाउनकै लागि एकै ठाउँमा हुनुपर्ने निचोडमा पुगेको माओवादी केन्द्रका नेताहरू बताउने गरेका छन् । लोकतान्त्रिक गणतन्त्रमा पुगेको नेपाललाई फेरि पञ्चायती व्यवस्थातर्फ फर्काउने उल्टो बाटो हिँड्न नदिन दलबीच न्यूनतम सहमति र सहकार्य हुनुपर्ने कुरा उठेको माओवादी केन्द्रका एक नेताले बताए । अहिले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको कसरत भइरहेको उनी बत्ताउँछन् । त्यसो हुने बित्तिकै एउटा दनक त भारतले भनेको जसरी चल्नु पनि परेन अर्को राजावादी र ज्ञानेन्द्रको मनोबल पनि बढ्न पाउँदैन—उनी भन्छन् । खासगरी माओवादी केन्द्रका नेताहरू ‘राष्ट्रिय सरकार’ बन्नु पर्ने कुरामा मुखर हुन थालेका छन् । माओवादीका सांसद लेखनाथ दाहालले आइतबार गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुलेको ठोकुवा नै गरे । सरकारमै बसेर व्यवस्था विरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिन सहकार्यको थालनी भएको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संवाद सुरु भएको छ । मधेश अभियान चलिरहेकै बेला अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच टेलिफोनमा संवाद भइरहेको र प्रचण्ड अभियान स्थगित गरेर काठमाडौँ आएपछि त्यो संवाद बाक्लिएको बुझिएको छ । तर, कांग्रेसका एक नेताले भने दोस्रो र तेस्रो तहका नेताहरूबीच मात्र छलफल भएको तर्क गर्छन् । तर कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले ज्ञानेन्द्रको चलखेललाई लिएर दलहरू एक ठाउँमा हुनसक्ने सम्भावना रहे पनि सरकारै बनाउने कुरा नभएको दाबी गर्छन् ।
केही समययता सरकारप्रति आक्रामक माओवादी केन्द्रले कांग्रेस–एमालेप्रतिको रवैया फेरेको छ । अब कांग्रेस–एमालेमाथि आक्रामक नभई व्यवस्था रक्षाका विषयमा केन्द्रित हुने माओवादीका एक नेता दाबी गर्छन् । एमालेका नेताहरूले खुलेरै भारतले प्रधानमन्त्री केपी ओलीलाई हटाउन जोड गरिरहेको बताएका छन् । कांग्रेसलाई छिटो सत्ताको नेतृत्व दिलाउन प्रयास भइरहेको उनीहरूको भनाइ छ । तथापि, कांग्रेस सभापति देउवाले अहिलेसम्म त्यसलाई अस्वीकार गरिरहेको उनीहरू दाबी गर्छन् । पछिल्ला केही दिनयता माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच टेलिफोनमा बारम्बार कुराकानी भइरहेको छ । देउवासँग यस्तै छलफल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गरिरहेका छन्। कांग्रेस–माओवादी केन्द्र संवादसँगै राष्ट्रिय सहमतिको सरकारको चर्चा बढ्दै जाँदा अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले भने मुख खोलेको छैन ।