काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको आन्दोलनले वितण्डा मच्चायो । आगलागी, लुटपाट, तोडफोडले गर्दा ठुलो क्षति भयो भने दुईजना नागरिकले अनाहकमा ज्यान गुमाउनुर्यो । देशको केन्द्रिय राजधानी मै यस्तो वितण्डा मच्चिएको घटनामा सरकारले छानबिन गर्न समिति बनाउन आनाकानी गरिरहेको बेलामा छानबिन गर्न नागरिक स्तरमा छानबिन आयोगको गठन गरिएको छ । राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको उपद्रवबारे छानबिन गर्न वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा नागरिक स्तरमा छानविन आयोगको गठन गरिएको हो ।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानका नाममा जनप्रदर्शन तथा सभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदर्शनकारीले अराजकता मच्चाएको आरोप सरकारले लगाएको छ भने प्रहरीले नै सभामा टियरग्यास हानेर हिंसा भड्काएको दावी आन्दोलनकारीले गरेका छन् । सो घटनाका विषयमा उच्चस्तरीय छानविन आयोग गठनको माग उठिरहेको भएपनि सरकारले चासो दिएको छैन । राष्ट्रिय मानवअधिकार आयोगले समेत यो विषयमा उदासिनता देखाएपछि नागरिकस्तरमा आयोग गठन गरिएको हो ।
नागरिक समाजका विशिष्ट व्यक्ति तथा संघसंस्थाहरुको सामूहिक प्रस्तावमा गठन गरिएको नागरिक छानबिन आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्वएआईजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन् ।