एक जना महिलाले प्रेमीसँग बस्नका लागि आफ्ना पतिको हत्या गरी ७ फिट तल शव गाडेको नयाँ घटना सार्वजनिक भएको छ। यो घटना पनि भारतको पश्चिम बंगालको हो।
इन्दौरकी सोनम रघुवंशी र मेरठकी मुस्कानले जस्तै अर्की महिलाले घटाएको यस्तो कारुणिक तथ्य डेढ महिनापछि खुलेको भारतीय मिडियाले जनाएका छन्।
रबिन रुइदास नामका व्यक्ति ४० दिनदेखि बेपत्ता थिए। प्रहरीका अनुसार रविनको शव उसको ससुराली घरदेखि लगभग आधा किलोमिटरको दूरीमा फेला परेको छ।
मुर्सिदाबाद जिल्लाको जाँगीपारा प्रहरी थाना क्षेत्रको राधानगर गाँउको एउटा इनारको छेउमा शव गाडिएको अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार पत्नी अर्पणा रुइदाससँग लामो सोधपुछपछि उनले हत्या स्वीकार गरेकी छन्। अर्पणासहित शव लुकाउनका लागि साथ दिने सबैलाई पक्राउ गरिएको छ। प्रहरीले बाख्रा बाँध्ने डोरी पनि जफत गरेको छ जसले रबिनको घाँटी कसिएको थियो।
मृतक रबिनकी भाउजू शिखा रुईदासले अर्पणा अन्यको अफेयरमा रहेको बताइन्। यहि विषयले रबिन र अर्पणाको लडाई हुने गरेको थियो। बच्चाका लागि रबिनले अर्पणालाई डिभोर्स दिन चाहेका थिएनन्। रबिनलाई लाग्थ्यो कि एक दिन सबैचिज मिल्नेछ। अर्पणाका हरेक इच्छा पूरा गर्ने रबिनले खुशी राख्न सकेनन्।
अर्पणा माइत गइन्। रबिनले सबै चिज विर्सिएर फिर्ता लिनका लागि कोशिशमा लागेका थिए। अर्पणालाई भेट्न रबिन ससुराली जान्थे।
प्रहरीका अनुसार यो घटना ११ मेमा भएको थियो। अर्पणाको आमाबुवाको घरमा घटना भएको प्रहरीले जनाएको छ।
आफ्नी पत्नी र दुई सन्तानलाई भेट्नका लागि रबिन ससुराली पुगेका थिए। जब रातीसम्म रबिन फर्किएनन् अनि उनका परिवारका अन्य सदस्य सशंकित भए।
त्यस दिन ससुरालीमा बसेको ठाने पनि अर्को दिन फोन गर्दा मोबाइल स्वीच अफ आयो। त्यसपछि परिवारले अर्पणालाई फोन गरेका थिए। उनले रबिन भेट्न नै नआएको बताएकी थिइन्।
जब रबिन सम्पर्कबिहीन भए अनि उनी बेपत्ता भएको उजुरी १३ मेमा प्रहरीमा दिइयो। प्रहरीले पनि रबिनबारे केही पत्ता लगाउन सकेन। तर २२ जुनमा रबिनको ठूल्दाई बब्लु रुईदासलाई एउटा नचिनेको नम्बरबाट फोन आयो। त्यो फोनमा अर्पणाले रबिनको हत्या गरी शव लुकाएको जानकारी दिइयो।