प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराएका हो ।
आफ्नो स्पेन भ्रमणबारे संसद् बैठकलाई जानकारी गराउदै प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको प्रतिनिधि मण्डलको भ्रमण सफल रहेको बताए । भ्रमण अन्तर्राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण रहेको र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधारमा भूमिका खेलेको उनले जानकारी गराए ।
गोलमेच बैठकमा जलवायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयमा महत्वपूर्ण छलफल भएको चर्चा गर्दै उनले सो बैठकमा अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता आएको बताए । गोलमेच बैठकमा औपचारिक विकास सहयोग लगायत दिगो विकासको विषयमा समेत छलफल भएको बताए । गोलमेच बैठकमा नेपालको छवि उच्च भएको बताउँदै उनले नेपालको एजेण्डा अन्तर्राष्ट्रियकरण गर्नसमेत सहयोग पुगेको प्रष्ट पारे ।
नेपाल अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका खेल्न सक्ने सक्षम राष्ट्रको पहिचान बनाएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रवाद, संरक्षणवाद बारेमा छलफल भई विश्वमा दिगो शान्ति समृद्धिका लागि र जलवायु परिर्वतनको क्षेत्रमा ठोस निर्णय गर्ने वातावरण निर्माण भएको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले भने , “वित्तिय स्रोत परिचालनसम्बन्धी अभियानमा नेपाल संलग्न भएको जानकारी गराएको छु, खानेपानी, सरसफाइसम्बन्धी काममा नेपालले राम्रो काम गरिरहेको र सो अभियानमा नेपाल निरन्तर लागेको जानकारी गराएँ ।”
विकासशील देशले भोगिरहेको जलवायु परिवर्तनका कारण उत्पन्न हुने पीडा, समस्याबारेमा गम्भीर छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लागि नागरिकले निरन्तर खवरदारी गर्नुपर्ने विषयमा चर्चा भएको बताए । सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुखहरुसँगको भेटमा बहुपक्षीय विषयमा छलफल भएको जानकारी दिए ।
सम्मेलनमा झण्डै ५० देशको राष्ट्रप्रमुखको सहभागिता रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताए । यस्तो भ्रमणले कूटनीतिक दृष्टिकोणले र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्नेगरेको उनले विश्वास व्यक्त गरे ।