अस्पताल पुर्याएको २० मिनेटमै अप्रेसन गरी प्रदेश अस्पताल सुर्खेतले आन्द्रा बाहिर निस्केको बालकलाई बचाएको छ । बाख्रा चराउन जंगल गएको बेला सालको रुखबाट लडेका भेरीगंगा नगरपालिका २ काल्पानीका ६ बर्षीय प्रवीण घर्ती सानो आन्द्रा बाहिर निस्किएको अवस्थामा अस्पताल ल्याएको थियो ।
उनलाई अस्पताल पुर्याउँदा बिहिवार विदाको दिन सर्जन डाक्टर पंकज गिरी भने इमरजेन्सीमा बिरामी हेर्दै थिए ।
बाहिर निस्केको आन्द्रालाई बचाएर भित्र राखियो, डाक्टर पंकजले भने, यति छिटो अप्रेसन नगरेको भए बाहिर निस्केको आन्द्रा कुहिएर ज्यानै जान सक्ने अवस्था हुन्थ्यो । अप्रेसनपछि बालकको अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको पनि उनले बताए ।