जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जेनजीले गरेको आन्दोलनका क्रममा हराएका हतियार र लुट्ने व्यक्तिको पहिचान कार्यलाई तीव्रता दिएको छ ।
शनिबारदेखि अभियानका रूपमा खोजी गरेको प्रहरीले केही हतियार, गोली बरामद गर्दै अपराधमा संलग्न केही व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसबीचमा प्रहरीले ठूलो परिमाणमा गोलीसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक कोमल शाहले आन्दोलनका बेला भएका लुटपाट, चोरी र तोडफोडमा संलग्नको पहिचानसहित पक्राउ कार्यलाई तीव्रता दिइएको बताए । मातहतका प्रहरी युनिटलाई आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई खोजी गर्न निर्देशन दिइएको छ ।
प्रहरीले बनेपा नगरपालिका–९ बाट ७३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर र १५ वर्षीय एक बालक रहेका छन् ।
यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले शनिबार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ लायकुस्थित डेरा गरी बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई उनकै डेराबाट एक कटुवा पेस्तोल तथा ३६ राउन्ड गोलीसहित पक्राउ गरेको छ ।
नियन्त्रणमा लिई धुलिखेलस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबर्जस्ती करणीका नौ, लागुऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ।