असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन, गृहमन्त्रीसँग असन्तुष्ट


मंगलबार, कात्तिक ११ २०८२११:३४

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन, गृहमन्त्रीसँग असन्तुष्ट

सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन्। उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन्।

सरकारका एक मन्त्रीका अनुसार केही दिनअघि उनले फेरि प्रधानमन्त्री कार्कीलाई भेटे। अघिल्लोपल्ट कुमार बेनसहित सौहार्द गफ गरी फर्केका उनले यसपल्ट एक्लै बालुवाटार गए। सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले आफ्ना चार सरोकारहरु कार्कीसँग राखे।

एक,जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने।

कार्कीले प्रधानमन्त्री चुन्न निर्णायक भूमिका खेलेका बालेनले राखेका प्रस्तावहरु जेनजी युवाहरुकै प्रतिनिधि प्रस्तावजस्तो भए पनि प्रचलित कानुन र आन्दोलनको भावना दुवै तालमेल मिलाउँदै अघि बढ्ने आफ्नो प्रयास हुने बताएकी थिइन् । ‘आन्दोलनको भावना सम्बोधन गर्दा कानुन बिर्सन भएन, कानुन हेर्दा युवाको माग बिर्सन भएन,’ कार्कीले बालेनलाई भनेकी थिइन्, ‘ओली, लेखक वा अरु जोकोहीमाथि कारबाही गर्नैका लागि गौरीबहादुर कार्कीको आयोग बनेको छ । त्यसलाई पहिले जाँचबुझ गर्न दिउँ ।’

स्रोतका अनुसार त्यसअघि प्रधानमन्त्री कार्कीले डाकेको सर्वदलीय बैठकमा उनी तथा मन्त्रीहरुको प्रस्तुतिलाई लिएर समेत बालेनले चासो राखेका थिए । आन्दोलनकारी पक्षको समर्थनमा प्रधानमन्त्री तथा मन्त्री बनेका व्यक्तिले सरकारको कमजोरी उदांगो पार्नेगरी बोल्दा दलका प्रतिनिधिहरुले कम आँक्न थालेको उनको भनाइ थियो ।

बालेनको भनाइ थियो– ‘मुख्य कुरा अहिले फेरि आन्दोलन जुलुसको तयारी देखिन्छ । दुर्गा प्रसाईलगायत समुहरुले आन्दोलनको कुरा गर्दैछन्, तर सरकारको तयारी चाहिँ फितलो देखियो ।’

यसैसँग जोडेर उनले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई तत्काल गिरफ्तार गरिहाल्न समेत माग गरेका छन् । प्रसाईले अहिलेको सरकार बाह्य इशारामा बनेको तथा चलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् । प्रसाईले निरन्तर आफू लगायत केही व्यक्ति लक्षित भड्काउ अभिव्यक्ति दिएको भन्दै बालेनले तुरुन्तै निगरानी तथा नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए ।

कार्कीले भने बोलेकै आधारमा, सानातिना गतिविधिकै आधारमा पहिल्यै पक्राउ गर्न कानुनी कठिनाइ पर्ने भन्दै सीमा सम्झाउन खोेजेकी थिइन् । प्रसाईले आपत्तिजनक काम गरेमा सरकार पछि नपर्ने भन्दै अहिले संयम हुन कार्कीले बालेनलाई आग्रह गरेको उनी निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

प्रधानमन्त्रीसँग मेयर बालेनले सरकारका मन्त्रीहरुमा राजनीतिक परिवर्तनपछिको संक्रमण व्यवस्थापन गर्ने हतारो कम देखिएको भन्दै गति बढाउन निर्देशन दिनुपर्ने आग्रह गरे। 

बालेनले कार्कीलाई भेट्दाको बेलासम्म जेनजीका तर्फबाट मन्त्रीको नाम गइसकेको भए पनि नियुक्ति भएको थिएन । सरकारले युवामध्येबाट गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम अघि बढाउने क्रममा थियो । बालेनले संस्कृति र सम्पदा क्षेत्रमा काम गर्दै आएका गणपतिलाल श्रेष्ठबाट महानगरका कतिपय काममा असहयोग भइरहेको गुनासो गरेका थिए । उनले श्रेष्ठ र सुनारको नाम नतोकी विवादित पृष्ठभूमिहरु र उठबसहरुबारे थप अध्ययन गरेर अघि बढ्दा राम्रो हुने आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँग बालेनले भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबारे गम्भीर चासो राखेका थिए । विगतमा सुशासनका थुप्रै एजेन्डाहरुमा सक्रिय नागरिक पैरवी तथा वकालत गर्दै आएका गृहमन्त्री अर्याल मन्त्रीका रुपमा भने खरो उत्रिन नसकेको बालेनको गुनासो थियो ।

यसअघि काठमाडौं महानगरका कानुनी सल्लाहकार रहेका अर्याललाई बालेनकै प्रस्तावमा मन्त्री बनाइएको चर्चा हुने गरे पनि यथार्थ त्यसभन्दा भिन्न देखिन्छ। मन्त्री अर्याल स्वयंले आफूलाई बालेन प्रतिनिधिजस्तो गरी चर्चा हुने गरे पनि सर्वदलीय बैठकमा त्यसभन्दा भिन्न ढंगले पेश भएका थिए।

स्रोतहरुका अनुसार महानगर सल्लाहकार हुन अर्याल गएका भए पनि बालेनसँग उनको विरलै भेट भएको थियो। अर्यालले आफू व्यावसायिक व्यक्ति भएकाले त्यसभन्दा बढ्ता अपेक्षा नगर्न र बालेनका अरु गतिविधिसँग जोडेर कनेक्सन नखोज्न समेत आग्रह गरेका थिए।

अर्यालले आफू प्रधानमन्त्री को सल्लाहकारमात्रै हुन चाहे पनि परिस्थितिले मन्त्री बनाएको भन्दै अहिले विभिन्न आशंकाहरु जन्माइएकामा दिक्दारीसमेत पोखेका थिए। ‘मलाई समयमा चुनाव गराएर जिम्मेवारी कहिले बिसाउँजस्तो भइरहेको छ,’ अर्यालले अघिल्लो साता अनलाइनखबरसँग भनेका थिए।

 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend